/प्रदेश नम्बर २ बाट हेर्दा यस्तो देखिन्छ एमाले

प्रदेश नम्बर २ बाट हेर्दा यस्तो देखिन्छ एमाले

अहिले हामी दुई नम्बर प्रदेशको चुनावको तयारीमा छौं । अन्य प्रदेशको चुनाव सकिइसकेको छ  । त्यहाँका जनताले आफ्नो मतको प्रयोग गरिसकेका छन् । प्रदेश दुईका जनतामा एक खालको नैराश्यता छ । त्यो के हो भने हामीले त्यो खालको ‘पावर इन्जोय’ गर्न पाइरहेका छैनौं ।

अर्को, हिजो असोज ३ मा संविधान जारी भएपछि मधेशकेन्दित राजनीतिक दलले यो संविधान हाम्रो होइन, मधेशीको होइन जलाऔं भनेर घोषणा गरे । संविधान कतिपय ठाउँमा जलाउने प्रयास भयो, जलाइयो । हामीले मधेशभित्रको सामाजिक संरचनालाई पनि बुझ्नुपर्छ । तराई मधेश भन्ने बित्तिकै झापादेखि कन्चनपुरसम्मको सुन्दर भूभाग हो । त्यसमा बसोबासको अवस्था हेर्ने हो भने ‘कोर मधेश’ भनेर दावा गर्ने ३८ प्रतिशत मात्र छन् ।  नेपाली भाषालाई आफ्नो भाषा मान्ने पहाडका आदिवासी जनजातिको संख्या ३९ प्रतिशत छ ।

यो विविधतालाई पनि एकखालको त्रासमा राखेर संविधानको स्वामित्व लिने बातावरण बन्न दिइएन । त्यस्तो त्रासदीपूर्ण अवस्था थियो । संविधान जारी भइसकेपछि संविधानसभामा एकथान संविधान संशोधनको प्रस्ताव आएको छ । त्यो संशोधन प्रस्ताव पारित भयो भने हामी पनि संविधानको स्वामित्व लिन्छौं भन्ने तहमा मधेश केन्द्रित राजनीतिक दल रहेका छन् । त्यो बीचमा संविधान हाम्रो होइन भनेर मानवताबिरुद्धको अपराध गरी  नाकावन्दी लगाइयो ।

पहाडमा रहेका आफ्नै दाजुभाइको दानापानी बन्द गर्ने काम गरियो । त्यो बिषयलाई नेपालको मानवअधिकार आयोग र अन्तराष्ट्रिय मानवअधिकार समुदायले मानवताबिरुद्धको अपराध हो भनेर जोडतोडका साथ उठाउनु पथ्र्यो तर उठाएको थाहा भएन । शत्रु राष्ट्रका बिरुद्ध गरिने अपराध हाम्रो देशमा आन्दोलनको नाममा भयो । यहाँ कस्तो देखियो भने आन्दोलन आह्वान गर्ने तर त्यसपछि नेतृत्व बेपत्ता हुने । अनि आन्दोलनका क्रममा हताहत हुने भयो । नेतृत्वले आन्दोलनलाई संयमतापुर्वक र प्रजातान्त्रिक रुपमा लिएको भए त्यस्तो हुने थिएन ।

आज सामाजिक सञ्जालमा हेर्नुस् । मधेशका पढेलेखेकाहरुले समीक्षा गर्न थालेका छन् ।  त्यो आन्दोलनबाट के पाइयो ? आन्दोलने जोड्यो कि झनै बिभाजन तर्फ लग्यो ? मधेश आन्दोलन के थियो, के भयो भनेर आज मधेशी शिक्षित युवा पनि समीक्षा गर्दैछन् । त्यसको कुल हिसाव गर्दा मेची–महाकाली सम्मको भूभागलाई मधेश भनिन्थ्यो । यो मधेशमा पर्ने अन्य प्रदेशहरुमा चुनाव भयो ।  संविधानमा विभेदपूर्ण धारा छन् भन्ने हल्ला चलाएर अनुमोदन गर्न भोट हाल्ने काम गर्नु हँुदैन भन्ने उर्दी थियो । जनताले बढो उत्साहपूर्वक भोट हालेर त्यसलाई अस्वीकार गरिदिए । जनताको भावनालाई प्रतिबिम्बित गर्दै गइएन भने हिजो संविधान हाम्रो होइन भन्नेर आन्दोलन गर्ने राजनीतिक दल जनताबाट एक्लिन्छ । अहिले यो २ न.प्रदेशमा सतहमा देखिएको छ । त्यो समस्या राजपामा छ । राजपाले यदि निर्वाचन बहिरष्कारको निर्णय गर्यो भने पनि उसको पार्टीमा भएका मानिस स्वतन्त्र निर्वाचन लड्छन् । यदि निर्वाचन लड्न पाएनन् भने पार्टी परिर्वतन गर्छन् ।  त्यो देखिन्छ, किनभने जनताको सेवामा काम गर्न ठाउँ चाहिन्छ भन्ने उनीहरुले ठानेका छन् ।

मधेशमा पढेलेखेका मानिसका पनि फरक फरक दृष्टिकोण छन् । मधेशलाई देखाएर पृथकतापूर्ण कुरा गर्ने देश विभाजनका कुरा गर्ने । हिजो पनि धेरै कुरा गरे । कतिपय अभियन्ता नेपालको राजनीतिक मुलधारमा छन् । कतिपय सानातिना पार्टीमा छन् । सीके राउतको गतिविधिमा  पृथकतावाद देखिन्छ । तर मधेशकै जनताले त्यो मान्दैनन् । जसरी पनि चुनावको खिलापमा जाने राजनीतिक परिदृश्य मधेशी जनताले चाहेका छैनन् ।

दुई नम्बर प्रदेशमा आम नागरिकको बुझाईमा परिवर्तन आएको छ । नेपालका जती पनि सरकार बने र जती पञ्चबर्षीय योजनाहरु आए, त्यसमा जती मधेशको विकासमा प्रतिबद्धता व्यक्त भए, तिनले भन्दा केपी शर्मा ओली नेतृत्वको सरकारले बढी मधेशलाई प्राथमिकतामा राख्यो भन्ने यहाँका मधेशी साथीहरुले महसुस गरेका छन् । ओली नेतृत्वमा बनेको सरकारले मधेशमा बजेटको हिसावले भरपुर सहयोग गर्यो । राजनीतिक रुपमा देशभित्र मात्र हैन, विदेशमा समेत ओलीले नेपालको प्रतिष्ठा बढाउनुभयो । अत्यन्त असहज अवस्थामा पनि नेपाली अनुहार देखाएर बिदेशीले खेल्ने र त्यसका बिरुद्धमा लडनुपर्ने अवस्था थियो, त्यसमा लड्नुभयो । खासमा त्यो देशभक्तिपूर्ण लडाईं थियो । राष्ट्रियताको लडाई थियो ।

उहाँ छोटो समय ९ महिनामात्र प्रधानमन्त्री हुनुभयो । ९ महिनामात्र सरकारमा हुँदा समेत केही गर्न सकिन्छ भन्ने देखियो । केपी ओली प्रधानमन्त्री नहुँदै संविधान जारी गर्ने सन्दर्भमा एमालेले लिएको अडानलाई हेर्न सकिन्छ । केपी ओली नभएको भए संविधान जारी हुँदैन थियो । यो ‘माइन्ड सेट’ यहाँ मधेशमा पनि छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र बिदेश सचिव एस जयशंकर नेपाल आएर संविधान जारी गर्न रोक्नुस् भनेका हुन् । त्यस्तो निर्देशन दिएका हुन् । यो देश दुनियाँ सवैलाई थाहा छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ‘रोकौं’ न त भनेको पनि सबैलाई थाहा छ । केपी ओलीको रोक्नुहँुदैन, जारी हुनुपर्दछ भन्ने अडानका कारण संविधान जारी भएको हो । यो मधेशका मानिसलाई पनि परेको छ, मधेशका दलहरुलाई पनि पर्यो । त्यसैले उनीहरुको विरोधको एकसुत्रीय निसानामा केपी ओलीलाई पारियो । त्यो निसाना बाहिरबाट हेर्दा मधेसकेन्द्रित दलले लगाएका थिए भने पर्दाभित्र नेपालमाथि नाकाबन्दी लगाउने शक्ति थियो ।

तपाईंहरुलाई अनौठो लाग्ला, त्यतिखेर प्रधानमन्त्री सुशील कोइराला हुने तर निशानामा केपी ओलीलाई पार्ने काम भयो ।  हामी त सधैं यही बस्छौं । सुशील कोइराला प्रधानमन्त्री भएकै बेला ४५÷४६ जनाको मधेशमा मृत्यु भइसकेको थियो । तर सबैभन्दा बढी नराम्रा शब्द केपी ओलीका विरुद्ध व्यक्त गरियो । एक खालको ‘टारगेट’ मा उहाँ हुनुहुन्थ्यो । ओलीमाथि संविधान जारी गर्ने बेला देखि पछिल्लो समयमा निकै आक्रमण भयो । जब मधेशी जनाधिकार फोरम हस्ताक्षर गर्दिनँ भन्दै बाहिरियो त्यतिखेर उहाँले आपका रुखबाट दुई चार दाना आँप खस्दैमा केही हुँदैन भन्नु भएको थियो । त्यसलाई मधेसमा मान्छे मारिएको विषयसँग जोडेर प्रचार गरियो । मधेशका जनता मर्दैछन्, केपी ओलीले त्यसलाई आँप भन्यो भनेर उहाँबिरुद्ध माहौल बनाउन खोजियो ।

एमालेले त्यसलाई यहाँ खण्डन गर्न सकेको देखिएन । यहाँका पार्टी नेता तथा कार्यकर्ताले खण्डन गर्न सकेनन्, उहाँको भनाईलाई बुझाउन सकेनन् । नसकेपछि तल त्यही स्थापित हुँदै गयो । त्यही मेसोमा झलनाथ खनालले एउटा टेलिभिजन कार्यक्रममा यो धोतीजस्तो लामो खालको प्रदेश बनाउन हुँदैन भन्नुभयो भन्ने आयो । उहाँले भनेको ठिकै थियो । अहिले मधेशका युवा साथीहरु बसेर हामीले ती कुरामा संवाद गर्यौ भने ठिकै थियो भन्नुहुन्छ । अर्को ओलीले माखेसांग्लो भन्नुभयो भन्ने कुरा आयो । यसमा पनि हामी मधेशीलाई माखा भन्यो भन्ने गलत प्रचार भयो ।  यो एउटा प्रसंगलाई अर्को प्रसंगसँग जोडेर सबैभन्दा ठूलो ‘भिलेन’ केपी ओलीलाई देखाउन खोजियो ।

पाँच महिनासम्म नाकाबन्दी हँुदा निरन्तर मधेश आन्दोलनको इपिसेन्टर हो बीरगञ्ज । त्यस आन्दोलनमा कतिपय जनता आए, तर ती सबै गलत प्रचारका कारण पनि आएका थिए । आज पनि एमाले मधेश बिरोधी हो भनेर भनिन्छ । माओवादी र कांग्रेसको तुलनामा अझै पनि एमालेलाई आफना सांगठनिक काम गर्न र गतिविधि संचालन गर्न केही सोच्नुपर्ने अवस्था छ यहाँ । यसमा एमालेभित्रकै समग्र स्थानीय नेतृत्व पनि पार्टीको पक्षमा उभिन सकेको देखिदैन । कतिपय ठाउँमा एमालेका नेताहरु एमाले पनि भए, मधेशी पनि भए, एकैपटक दुइटै अवतारमा देखिए ।

आफ्ना राम्रा कामको समेत प्रचार गर्न सकेन 
हिजोसम्म यो प्रदेशमा सार्वजनिक कार्यक्रम गर्न एमालेलाई अप्ठ्यारो थियो । निर्वाचन घोषणा भएपछि स्थिति फेरिएको छ । प्रजातन्त्रप्रति ओठेभक्ति दर्शाउने तर विचार प्रवाह गर्न कुनै राजनीतिक दललाई निषेध गर्ने काम भयो । एमालेमाथि भौतिक आक्रमण नै गरियो । एमालेले त्यत्रो मेची–महाकाली कार्यक्रम गर्यो, यो सबैलाई थाहा छ । तर पनि  केपी ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ‘क्यापिटलाइज’ गर्न सकेन । एमालेका अध्यक्ष ओलीले बोलेको म सम्झन्छु ।
हुलाकी सडक यो नेपालको एजेन्डा हो र यो नेपालले आफै बनाउनुपर्छ भनेर बजेट ल्याएको केपी ओलीले हो । अहिले सबैभन्दा राम्रो सिमावर्ती क्षेत्रमा रहेको सीमा विकास कार्यक्रम ओलीकै सरकारले ल्याएको हो । पारीको विकास देखेर नेपाली जनताले ‘डोमिनेट’ हुन नपरोस् भनेर नेकपा एमालेको सरकारले यो ल्याएको हो । एमालेबाहेक अरु कसैले यो सोचेका थिएनन् । अर्को मधेशमा रहेका जिल्लाका सदरमुकाम र नगरपालिकाको विकासका लागि ओलीले बजेट छुुट्टयाउनुभएको हो । काठमाडौंमा बसेर मधेशका विषयमा ‘एडभोकेसी’ गर्ने मधेशका बिद्वान भनिनेले पनि यो बजेटको प्रशंसा गरेका छन् । तर एमालेको पार्टी पंक्तिले यो बजेटको सन्दर्भमा गाउँगाउँमा बुझाउन सकेको देखिएन । विकास भनेको के हो भन्ने त केपी ओलीको सरकारले देखाएको हो नि । तर खै त एमालेले यसको प्रचार प्रसार गर्न सकेको ?

रेलका कुरा गर्यो, पानी जहाज चलाउने कुरा गर्यो भन्दै त्यसलाई उखान टुक्का बनाए । अहिले कांग्रेसको घोषणापत्र हेर्नुस्, त्यसको सपना हेर्नुस– चीनबाट रेल ल्याउने भन्ने छ । बरु एमालेको घोषणापत्रमा मेची–महाकाली रेलको कुरा छ । हिजो ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा कागजको रेल बनाएर जिस्क्याउनेहरु आज आफैं प्रयोग गर्न खोजिरहेका छन् । पहिलो पटक सम्झिनुपर्छ मनमोहन अधिकारीको नेतृत्वमा भएको सरकारले लोककल्याणकारी राज्यको अवधारणा ल्यायो, कार्यान्वयन पनि गर्यो । त्यतिखेर पनि कांग्रेसका अर्थशास्त्रीहरुले भन्थे– नेकपा एमालेले देशको स्रोत र साधनलाई खुला गरिदियो र कनिका छरे झैं पैसा छरिदियो । त्यतिखेर प्रत्येक गाउँलाई तीन लाख रकम दिएएको थियो । राम्रो गर्ने ठाउँमा तीन लाखले ३० लाख रुपैयाँले गर्न नसक्ने काम भयो । गाउँमा विकास विस्तार त्यसैबेला देखि हुन थालेको हो । अहिले यही मधेश आन्दोलनको केन्द्र बीरगञ्जमा पनि एमालेको सामाजिक सुरक्षा कार्यक्रमको प्रशंसा हुन्छ । केपी ओलीले भत्ता बढाइदियो भन्दै प्रशंसा हुन्छ ।

नेपालको समृद्धिको कुरा एमालेले पूरा गर्न सक्छ भन्ने ओलीको नेतृत्वको सरकारले देखायो । तर त्यसलाई एमालेले पूँजीकृत गर्न सकेको छैन । एमालेलाई अरु कुनै हिसावले नसक्ने भएपछि बिभिन्न भ्रमका खेती भएका हुन् । तर अव ती तोडिदै छन् । अव बिस्तारै मधेशी समुदायभित्र पनि छलफल भइरहेको छ । एमाले गलत छैन भन्ने बिमर्श त्यहाँभित्र सुरु भएको छ । दुई नम्बर प्रदेशमा एमालेको पक्षमा जनमत बढिरहेको छ ।
(लेखक नेपाल पत्रकारमहासंघ पर्सा शाखाका पुर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार हुनुहुन्छ )

352पटक जम्मा पढिएको,1पटक पढिएको आज