/भगवद्गीतामा होलीको यस्तो छ अर्थ

भगवद्गीतामा होलीको यस्तो छ अर्थ

आज फागुपर्व । यसलाई होली पनि भनिन्छ । काठमाडौँमा फागुन ३० गते अष्टमीको दिनदेखि चिरोत्थान गरी शुभारम्भ गरिएको यस पर्वलाई फागुनशुक्ल पूर्णिमाको दिन चिरदाह गरेपछि समापन गरिन्छ । यस वर्ष यो पर्व नेपालको पहाडी जिल्लामा यही चैत ६ गते र तराइका जिल्लामा ७ गते परेको छ ।

नेपालबाहेक जहाँसुकै बसेका भए पनि सारा हिन्दुहरूले मनाउने गरेको पर्व हो यो । यस अर्थमा करिव डेड अर्ब हिन्दुको साझा पर्व हो भन्नु मनासिव हुनेछ । नेपालमा के हिन्दु के गैरहिन्दु सबै अवीर र रङ्गमा रमाउँदै आएका छन् । यस अर्थमा होली आपसी सद्भावको मात्र नभई भाइचाराको समेत पर्व हो भन्ने प्रष्टै अनुभूत हुन्छ । नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको यस पर्वले आपसी द्वेष र द्वन्द्वलाई तोडेको छ र सँगसँगै नेपालीहरूलाई जोडेको छ ।

दाजु हिरण्यकशिपुको आदेशमा विष्णुभक्त भतिजा प्रह्लादलाई मार्न अग्निकुण्ड प्रवेश गरेकी होलिका आफँै जलेर भष्म भएकी थिइन रे कुनै   बेला । त्यसैको सम्झनामा होलीपर्व मनाउन शुरु गरिएको किम्वदन्ती छ । भविष्यपुराणका अनुसार सत्ययुगमा बालकहरूले आगो बालेर होहल्ला गरी ढोण्ढा नामक राक्षसको आतङ्क शान्त पारेका थिए । त्यसैको खुशियालीमा यो पर्व मनाउन शुरु गरिएको हो । अर्काे किंवदन्तिअनुसार यसको गर्भाधान व्यासजीले सत्य युगतिरै भएको देखाएका छन् भागवत र भविष्य पुराणमा । होलिका दहनको प्रसङ्ग भागवतमा आएको छ तर यसको बीजाङ्कुर खोज्दै जाने हो भने वैदिक संहिताहरूमै भेटिन्छ । शान्ति, सद्भाव, सहयोग, सहकार्य, सहिष्णुता र मेलमिलाप नै फागुदर्शनको परिभाषा हो । यसैको वकालत गरेका छन् वैदिक ग्रन्थहरूले । ऋषिमुनिहरू सर्वत्र शान्तिको कामना पनि गर्थे र सोही अनुसारको आचरण पनि गर्थे । ठाउँ ठाउँमा गुरुकुल खोली पठनपाठनको व्यवस्था मिलाएका थिए । फलतः कोही पनि कसैको दुष्मन वा शत्रु हुन सक्दैनथे । कदाचित कोही भेटिए आत्मदर्शनको आदर्शले.आप्लावित गरी मेटाउने गर्थे । जसले गर्दा प्रकृतिगत विषम जातिहरू पनि आपसमा मित्रता गर्थे । बाघ र बाछो मिल्थे । सर्प र मुसो मिलेर बस्थे ।

गीतामा कृष्णले ‘सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि’ भनेका छन् । (श्रीमद्भवत गीता ६।२९) अर्थात् सर्वभूतमा आफूलाई र आफूमा सर्वभूतलाई देख्ने प्रयास गर्नु नै मानवता हो भन्ने गीतादर्शनको मान्यता हो । भागवतमा पनि जीवो जीवस्य जीवनम् भनेका छन् व्यासजीले । यो पनि मानवता दर्शनकै पक्षपोषण हो । जीव नै जीवको जीवन हो, जहाँ एकले अर्कोलाई बचाउने काम भएको हुन्छ त्यहीँ जीवन नै सार्थक हुन्छ भन्ने निचोड हो यसको । यसैको सेरोफेरोमा घुमेको छ फागुदर्शन, जहाँ एकले अर्कोप्रति सद्भाव मात्र राख्दैन आपसमा अभिन्नता बोध गर्ने कामसमेत भइरहेको हुन्छ ।

फागुपर्व मनाउनुको अर्थ रङ्ग र अवीरको रसमा सरोवर हुनु हो । यसमा न धनी र गरीवको भेद हुन्छ न ठूला र सानाको । न उचनिचको भावले स्थान पाउँछ न छुवाछूत भावको गुञ्जाइस । हर्ष र उमङ्ग पनि यसैमा छ शान्ति, सद्भाव र आनन्द पनि यसैमा । आपसी सद्भाव, सहयोग, सहकार्य र सहिष्णुता लगायत समग्र मानव सभ्यताको आदर्शलाई आत्मसात् गरेको छ यस पर्वले ।

उपनिषद्ले आनन्दलाई ब्रह्म भनेको छ । ‘आनन्दो ब्रह्मेति व्याजानात्’ (तैत्तिरीयोपनिषद् षष्ठ अनुवाक) । यस अर्थमा यस पर्वलाई ब्रह्म प्राप्तिको पर्वको रूपमा पनि लिन सकिन्छ । आनन्दको रसमा सरोवस गराई जीवलाई ब्रह्मसँग मिलाउने प्रयास गरेको छ यस पर्वले । फागु वा रङ्गको रसले भिजेका बेला कसैले पनि यो र त्यो भन्ने कुराको भेउ पाएका हुँदैनन् । आवाल बृद्ध वनिता सबै एकअर्कोमा आवद्ध भएका हुन्छन्, मिलिरहेका हुन्छन् । यही नै जीव र बह्मको मिलनको अवस्था हो ।

गोपिनीहरू रासको रसमा डु्बेका बेला आफूलार्ई बिर्सन्थे र सर्वत्र कृष्ण नै देख्थे । त्यतिबेला आफू पनि कृष्णमै लीन भइरहेको पाउँथे । यही नै ब्रह्म सम्मबन्धको अवस्था हो । यस्तो चमत्कार रसको सागरमा डुबेको बेला मात्र हुन्छ । फागु रसमा पनि यस्तै चमत्कार भइरहेको हुन्छ । जतिबेला फागुदर्शनको समाधि लाग्छ त्यतिबेला को के हो र को कहाँ छ छ भन्ने कुराको भेउ नै पाइरहेका हुँदैनन् फागुको खेलाडीहरू । सबैलाई आफै देख्छन् र त्यस्तै किसिमको व्यवहार भइरहेका हुन्छन् उनीहरूबाट । त्यसैले यस पर्वलाई ब्रह्म साक्षात्कार गराउने पर्व भन्नुपरेको हो ।

फागुपर्वको केही विकृति पनि छन् । एक हप्ता अघिदेखि लोला हान्ने र हिलो पानी छ्यापेर अरूलार्ई हैरान पार्ने संस्कृति होइन विकृति हो । यसले पर्वको उद्देश्यपूर्ति पनि गर्दैन र संस्कृतिको सही परिचय पनि दिंँदैन । रङ्गमा हानिकारक रसायन मिसाएर छर्ने गरेको पनि पाइन्छ । यो त झन् गम्भीर समस्या हो । यसले अरूलाई मात्र होइन आफैलाई समेत रोगी बनाउँछ । पर्व मनाउँदा अभिभावकले आफ्ना नानीहरूलाई सतर्क गराउनु पनि पर्छ र प्रशासनले पनि विशेष निगरानी राख्नुपर्छ । आशा गरौँ यसतर्फ पनि हाम्रो ध्यान जानेछ ।

(लेखक गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक हुन। )

284पटक जम्मा पढिएको,1पटक पढिएको आज