/पाकिस्तान सुपर लिग पीएसलमा जमे सन्दीप लामिछाने, राम्रो बलिङ गर्ने सूचीमा पहिलो

पाकिस्तान सुपर लिग पीएसलमा जमे सन्दीप लामिछाने, राम्रो बलिङ गर्ने सूचीमा पहिलो

काठमाडौं, १७ फागुन । स्टार लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा शानदार फर्ममा देखिएका छन् ।

लाहोर कलन्दर्सको लागि खेल्दै उनले हालसम्म खेलको ४ खेलमा १० विकेट लिइसकेका छन् । बिहिबार भएको कराँची किंग्स विरुद्धको खेलमा पनि कसिलो बलिङ गरेका उनले ४ ओभरमा १७ रन दिइ २ विकेट लिएका थिए । उक्त खेलमा सन्दीपले टी–२० वरियताको पहिलो नम्बरमा रहेका बाबर आजम र दोश्रो स्थानमा रहेका कोलिन मुन्रोको विकेट लिएका थिए ।

त्यस्तै उनले लाहोरको लागि खेलेको पहिलो खेलमा मुल्तान सुल्तान्स विरुद्ध ४६ रन खर्चिंदै ३ विकेट लिएका थिए भने क्वेट्टा ग्लाडियटर्स विरुद्धको पहिलो खेलमा २० रन खर्चिइ १ विकेट र दोश्रो खेलमा १० रन खर्चिइ ४ विकेट लिएका छन् ।

विकेट लिएरमात्र नभइ टोलीको आवश्यकता अनुसार सुरुवाती ओभर, मिडल ओभर र अन्तिमतिर बलिङ गर्दै आफ्नो क्षमता उनले पाकिस्तानी क्रिकेट लिगमा देखाइसकेका छन् । उनको प्रदर्शनको कमेन्टेटरहरुले खुलेर प्रशंसा गर्ने गरेका छन् ।

यसअघि उनको टोलीमै रहेका यासिर शाहसँग उनले धेरै कुरा सिक्न सक्ने र उनको उपस्थितीले सन्दीपको उपयोगिता कम हुनसक्ने विश्लेषकहरुको आँकलन गलत साबित भएको छ । यासिर लाहोरको लागि त्यति सफल भने हुन सकेका छैनन् । यसको विपरित सन्दीपलाई विश्वस्तरीय ब्याटसम्यानहरुले खेल्न गाह्रो परिरहेको देखिएको छ । सन्दीपको बलिङमा रहेको विविधताले उनलाई सफल बनाएको बुझिएको छ ।

विशेषगरी उनको गुगलीलाई बुझ्न सक्ने क्षमता कमै खेलाडीमा देखिएको छ । यसको असर स्वरुप पहिलो खेलमा उनलाई महँगो प्रमाणित गर्न खोजिएपनि दोश्रो खेल यता उनको ३ खेलको १२ ओभरमा एउटा चौका र एउटा छक्का मात्र प्रहार भएको छ ।

उनको समग्र सफलता सबैभन्दा धेरै विकेट लिने बलरहरुको सूचीमा स्पष्ट देखिन्छ । ४ खेलमा कुल १० विकेट लिएका सन्दीप उक्त सूचीमा तेश्रो स्थानमा छन् । उनी भन्दा माथी ६ खेलमा १६ विकेट लिने हसन अली र ७ खेलमा ११ विकेट लिने हरिस रौफ मात्र छन् ।

त्यस्तै पीएसएलको यस सिजनमा अहिले सम्मको खेलहरुमा एकै इनिङमा सबैभन्दा राम्रो बलिङ गर्ने सूचीमा सन्दीप पहिलो स्थानमा छन् । उनले क्वेट्टा ग्लाडियटर्स विरुद्ध ४ ओभरमा १० रन दिइ ४ विकेट लिएको प्रदर्शन यस पीएसएलको सबैभन्दा उत्कृष्ट साबित भएको छ । उनको सोही प्रदर्शन एकैखेलमा औसतमा प्रतिओभर कम रन दिने बलिङ प्रदर्शनको सूचीमा दोश्रो स्थानमा छ ।

त्यस्तै उनले फालेको कुल १६ ओभरमा प्रतिओभर औसतमा ५.८१ रन मात्र खर्चेका छन् । उनको यो प्रदर्शन ४ विकेट वा सो भन्दा बढि लिने खेलाडीहरुको सूचीमा पनि पहिलो स्थानमा रहेको छ । सन्दीप लामिछाने पीएसएलको पुरै सिजनको लागि खेल्ने भएकाले उनले आफ्नो प्रदर्शन अझै उत्कृष्ट बनाउन सक्ने देखिएको छ ।

हालसम्म लाहोरले खेलेको ७ खेलमा ३ मा मात्र जित पाएको छ र अंक तालिकामा ६ अंक सहित चौथो स्थानमा रहेको छ । अब लिग चरणको तीन खेलमा बाँकि रहेको छ र शिर्ष २ मा पर्नसके फाइनलको सम्भावना बलियो हुनेछ । छ टोली रहेको यस प्रतियोगिताको कम्तिमा शिर्ष चारमा पर्न सके प्लेअफमा स्थान पक्का हुनेछ ।

यस्तो जटिल संघारमा रहेको लाहोरलाई अहिले ठुलो झट्का लागेको छ । कप्तान एबीडी भिलियर्स यस सिजनमा बाँकि खेलको लागि उनि उपलब्ध हुने छैनन् । कप्तानको जिम्मेवारी फकार रहमानले सम्हाल्ने भएका छन्  ।

उनको स्थानमा एन्टोन डेभासिच वा हार्डस भिलोइन आउने लगभग पक्का रहेको छ । यसअघि मोहम्मद हफिज घाइते भएपछि भरपर्दो ब्याटसम्यान गुमाएको लाहोरको लागि प्लेअफमा स्थान बनाउन चुनौतीपूर्ण रहेको छ ।

लाहोरको अर्को खेलमा आगामी मंगलबार पेशावर जाल्मीसँग रहेको छ ।

257पटक जम्मा पढिएको,1पटक पढिएको आज