/किड्नी बिनाका ओली, फोक्सो बिनाको म !

किड्नी बिनाका ओली, फोक्सो बिनाको म !

राजेश मिश्र

चौबीस घण्टा अघि, म ओसनसाईड सीटीको पुछारमा स्थापित “वालमार्ट” को भित्तोमा अडेसिएर चुरोट तान्दैथिएँ। भित्तोमा अडेसिएर यसकारण कि, मैले पहिलो पटक चुरोट तानेको थाहा पाउँदा आमाले मेरो जुन हुर्मत लिनुभएको थियो, अहिले श्रीमतीजीले त्यसको सयगुणा बढी लिन थाल्नुभएको छ। आमा त सुनेसुनेको कुरा सुनाएर चुरोटप्रति मेरो मोहभंग गराउन सानोतिनो प्रयास गर्नुहुन्थ्यो। जमाना संगै प्रविधि बदलियो अनि मेरी जीवनसाथीको ‘कनभिन्स’ गर्ने शैलीले त मलाई कहिलेकाहीं हुरुक्कै पार्छ।

उनी गुगल गरेर चुरोट सेवन गर्नेको जीवन हरेक घण्टा कसरी घट्छ भन्ने कुनै प्रोफेसरको भीडिओ मेसेज गर्छिन, अथवा “तम्बाकु पीनेवालेका फेंफेडे कैसे दिखता है” भन्ने हिन्दी “भ्लग” पठाउँछिन्।

म उनलाई सम्झाउन खोज्छु, “बेबी…” मैले चुरोटको बास्ना आउने मुखले नै सही, माया गरेर उनको ध्यान आकर्षित गर्ने कला सिकेको छु। “के?”  उनी अलि निश्ठुरिएको पारामा प्रतिक्रिया दिन्छिन। म भन्छु, अझ भनौं, उदाहरण दिन्छु, “पंचायतकाललाई जनताको आन्दोलनले ०४६ सालमा धूलीसात गर्नु अघिनै म एस.एल.सी. नामको फलामको ढोका छिचोलेर हिंडेको थिएं।  मैले त्यहीबेला चुरोट तान्न सिकेको हो। चुरोट त् मेरो संघर्षको साक्षी हो यार।

०४२ सालको आन्दोलनमा “कान्छो कैदी” का रुपमा जेल परियो। खोरमा हुलियो। गोदाई खाईयो। कहाँ डाक्टर हुन्छु भनेर “जूलोजी” पढेको मान्छे, जेलबाट निस्केपछि पत्रकार हुने अठोट पलायो।केशवराज पिंडाली चुरोट तान्दैनथे, तर रक्सी खान्थे। पदम ठकुराठी, जनार्दन आचार्य, हरिहर बिरही पनि जांड खान्थे, चुरोट तान्दैंनथे। तर हामी भन्दा अलि दाई पुस्ता श्री आचार्य र गोविन्द वर्तमान चुरोट नतानी कलम समाउंदैनथे। तर उनीहरु पनि रक्सी त टन्न खान्थे। मैले पनि खाएकै हुँ। किशोर नेपाल संग काम थालेपछि त रक्सी र चुरोट बिना पत्रकार नै भईन्न कि क्याहो ! जस्तो लाग्यो। त्यहि गरें, अनि.…”

जुनिताजीलाई झोंक चल्छ त्यसपछि।

“मैले तेरो बायोडाटा नपढी तँ संग बिहे गरेको होईन,” भन्ने भावमा उनी आँखा तर्छिन्। तर, यथार्थ कुरो के हो भने, आज सम्म मैले कुनैपनि “जब पोर्टल”मा आफ्नो बायोडाटा (यता अमेरिकामा त्यसलाई “रिज्युमे” भन्दारैछन् ) पोष्ट गरेको छैन।  जुनिताजीका लागि मेरो “रिज्युमे” मेरा फ़ेसबूक पोष्टहरु रैछन्। फ़ेसबूकबाट हामी नजिकिन थाल्यौं।

सन् २०१४ क्रिसमस ईभ, डिसेम्बर २४ राती मैले जुनितालाई आफ्नो प्रणय प्रस्ताव प्रस्तुत गरें। लिम्बु खानदानकी छोरी जुनिताजीको पहिलो शर्त थियो, “जांड रक्सी खान पाइंदैन। अनि चुरोट पनि।” उनको हरेक कुरो आदेशात्मक हुन्थ्यो। “अनि तिम्रा आमाबाउ त तोंवा तान्छन नि त ” म भन्थें। “मैले उनीहरुको घ्याम्पो फ़ुटाईदिएको छु,” उनी भन्थिन। “मैले सगरमाथा चढ्न “कनट्र्याक्ट” गर्दा मेरो खल्तीमा ट्याम्पु चढ्ने पैसा थिएन।  तर मैले पच्चीस लाखको जोहो गरेर त्यहाँ चढेर छोडें। ”

उनले फ़ोनबाटै मलाई मेरो पाखुरा बटारिरहिन। प्रेमको फन्दामा परेको म, उनले भनेको कुरो मानिरहें।

म कोलोराडोमा थिएँ। बर्षको झन्डै पांच महिना त्यहाँ हिउँ पर्छ। चीसो हुन्छ। त्यहाँ २०१३ देखि गाँजा सेवन कानूनी भएको थियो। बिन्दास प्रकृतिको म, गाँजा, चुरोट र रक्सीको स्वाद संगै बर्षौं पछि प्रेममा  आशक्त भएको थिएं।

“खुरुक्क क्यालिफोर्निया आईज” भन्ने शैलीले उनले फरमान जारी गरिन्। सन् २००५ मा अमेरिका उत्रिएको म, त्यतिबेला सम्म झन्डै अठार राज्य चाहारिसकेको थिएँ। मलाई हावामा उड्न भन्दा बसमा गुड्न रमाईलो लाग्छ। अमेरिकाको रूप, प्रतिरुप र विद्रूप, हरेक ठाउँमा हरेक मान्छेको भिन्दै प्रस्तुति हुने गर्छ यो जटील मुलुककमा। बोल्न त सबैले अंग्रेजी नै बोल्छन् यहाँ।

तर हरेक राज्य परिवर्तन भएसंगै उनीहरुको लवज परिवर्तन हुन्छ। कतै कडा, कतै नरम। नरम स्वर रिसाएको हुनसक्छ। कडा स्वर मायालु नहोला भन्न सकिन्न। अलाबामा कडा..नोर्थ क्यारोलिना नरम.… अमेरिकामा आफ्नो कीलो गाडेर बसेका अनि फेसबुकमा धर्माधिकारी झैं प्रस्तुत हुने नेपालीहरुले मेरो आशय पक्कै बुझेका होलान।

जे होस्, कुराको कथन त चुरोटबाट उठान भएको थियो। हो, म आफ्नीबाट लुकेर खान्छु। तर मैले चुरोट खाएकै छैन भनेर पनि ढाँटेको छैन। यति हो, लुकेर खान्छु। अनि झगडा गर्ने अरु कुनै बहाना नहुँदो हो त, जुनिताजीलाई एउटा मौका जहिल्यै पनि प्राप्त हुन्छ, “तँ ऊ त्यहाँ “वाल्मार्ट” को भित्तॊमा छेलिएर चुरोट तान्दैथीस। मैले नदेखेको नाटक गरिदिएको। ”  सही हो। नदेखेको नाटक गर्नुमा एउटा सहजता छ। त्यो एउटा बिम्ब हो।

चुरोटले मात्र मार्दैन रैछ!

जीवनभर चुरोट, रक्सी, अनि नाना प्रकारका व्यभिचार बोकेर हिंडेका किशोर नेपाल अझै दुरुस्त छन्।  मैले उनलाई कुनै रोग लागोस भनेर कामना गरेको होईन। तर किशोर नेपाललाई सम्झिने बित्तिकै मलाई शिव अधिकारीको सम्झनाले मुटु फ़ुलाउँछ। पंचायतकालमा किशोर नेपाल र शिव अधिकारीको मुटु, कलेजो, ह्याकुलो सबै जोडिएको थियो। एउटा अंग जोडिएको थिएन, जसमा किशोर नेपालको तन्तु अलि जागरुक थियो। मरिचमान संग पैसा खाने दाउ। सौम्य शिव दाई कलेजोको क्यान्सरले कुबेलामै गए।

किशोर नेपाल शिव अधिकारीको बिरासत कनिकामा हस्तान्तरित गर्न लागेका छन्।  (हिजो शिव दाईले लेखेका थिए, “उसै त रति, कट्टु समेत भिजेपछि”) त्यो पंचायतकालमा दरवारियालाई दिईएको गतिलो दनक थियो।   मर्न र मार्नका लागि जांड र चुरोट नै किन खानु पर्यो र?

पुरानो निष्ठा जोडिएको छ भने, एउटा सानो “ईग्नोरेन्स” बीष बराबर हुन्न र? मैले नेपालमा कुनै बेला संगत गरेका धेरै साथीहरुलाई “ईग्नोर” गरेको छु। मलाई बोल्न मन लाग्दैन। किनभने, हामीहरूसँग शब्द सापटी लिने भन्दा अरु कुनै अभिप्राय हुँदैन।

ओली-प्रचण्ड एकता !

म कोलोराडो हुँदाको एउटा अचम्मको घटना सम्झन्छु। सन् २०१४ तिर होला। त्यहाँ नेवारहरुको एउटा संस्था भर्खर बन्न लागेको जस्तो थियो। केहीदिनपछि, त्यहाँको अद्द्यक्षलाई नै घिक्रेठ्याक लगाएछन। किन भनेको त? उनी नेवारी बोल्न जान्दैनन रे। अब राणाहरुले काठमान्डौबाट लखेटेको एउटा नेवारको बच्चो कोशी तरेर रामेछाप पुग्यो, त्यहाँ उसले नेवारी कसरी सिकोस र बोलोस्?

कोलोराडोमै गुरुङ्हरुको पनि एउटै समाज थियो। तमु धीं भनिन्थ्यो त्यसलाई। त्यो पनि फुट्यो। किन भनेको? त्यसका सभापति त अंग्रेजी मात्र बोल्छन। नेपालीमा बोल्दा सानो भएको ठान्छन रे। कोलोराडोमा गाँजा मैले ताने हुँला, त्यसको असर गाँजा नातान्नेहरुलाई देखेर मेरो होस् हराउन्थ्यो। कति हाँस्नु?

अम्र्रिकामा नौ सय बढी नेपाली संस्था छन्। सबै कसै न कसैको खल्तीमा छन्। संस्था नभएकाहरुको संस्था फेसबुकमा पनि छ।

फेसबुक कुन अभिप्रायले खुलेको थियो, मलाई थाहा छैन। तर यसले हामीले थाहा नपाएको ढंगले अन्तर्राष्ट्रिय घुसपैठको कर्म गर्दैछ। हामी फेसबुक मार्फत त्यही गर्दैछौं। गुगलले तपाईंले खोजेको सूचना केही सेकेन्डमै दिन्छ। क्या बात! तपाईंको सूचनाको चुवाहट पनि हुँदैछ कि?

मलाई जुनिताजीले चुरोट खाएको कारण हप्काएकोमा कुनै आपत्ति छैन। आउने दशैंमा दाईको घर भर्जिनिया जान्छौं। जांड  खाईन्छ। रमाईलो गरिन्छ। जिन्दगीमा बहकिने क्षण मौकाले प्राप्त हुन्छ।

अनि आफ्नो काममा फर्केपछि महिनौं कुराकानी हुँदैन। एकता छैन कसरी भनौं? छ भनौं के छ भनौं? ओली र प्रचण्डको जस्तो?

सुनसान कांग्रेसी बजार

तर यस्तो मौका सबैलाई प्राप्त हुँदैन। हामी संधै बरालिने ओसनसाइड प्लाजा आज सुनसान छ। समुन्द्र किनारको हावा चीसो हुँदैछ। आईतवार सबैको छुट्टी हो। प्राय सबै राम्रो लुगा लगाएर चर्च जान्छन। तर आज सुनसान छ। हिजो यहाँ भन्दा आधा घण्टा टाढाको सान डिएगोमा डोनाल्डका मान्छेले छापा मारेर एक सय भन्दा बढी मान्छेलाई समाते रे। सबै मेक्सिकोबाट आएका। त्यसैले यहाँको बजार आज सुनसान छ। मलाई जुनितालाई लुकाएर चुरोट खाने चिन्ता छ।

एकथरीलाई कुन बेला आफुलाई समातेर मेक्सिको बोर्डरको बालुवामा पानी बिनाको माछाझैं फालिदिनेहुन भन्ने चिन्ता छ। भर्खर एउटा मेक्सिकन मूलको  केटो “पर फोवर” भन्दै मलाई मेरो गोडा हटाउन आग्रह गर्दै आयो। उसले आधा घन्टामा सपीङ् कम्प्लेक्स बढार्नु छ। नत्र उसलाई आफ्नो प्रेमिका पोईल गैहाल्ने हो कि भन्ने चिन्ता छ।

उता ओली कर्मचारीहरुलाई ठीक यसैगरी “च्याँ गर्न नपाईएला” भनेर धम्की दिंदैरहेछन। ओलीका कृपाप्राप्त दीपक मनाङ्गे भारतमा निस्फिक्री छन् रे। झन्डै एक दर्जन प्रहरी मार्ने रेशम चौधरीलाई ओलीका गृहमन्त्री राम बहादुर बादल जूस पिलाउन गैसके। गणेश लामा हिरासतमा छन्। गणेश लामाको आपराधिक पृष्ठभूमि लामो छ। उनको थप एउटा अपराध, उनी ओली पार्टीका होईनन। चरी पहिले थिए, पछि भएनन्। चौबीस घण्टा मान्छेको चिन्ताका लागि पर्याप्त छैन। नेपाली कांग्रस नीति होईन, मुद्दाको जोहो गर्न लालायीत छ। कांग्रेस चौबिस घन्टे राजनीतिमा सीमित छ।

एब्स्ट्र्यक्ट चिन्तन ओली

शंकर लामिछानेले एब्स्ट्र्याक्ट चिन्तन प्याजमा लेखेका थिए, “आजको कृष्णको विराट् रूप पनि त प्याज हो ।” तर आजको बिराट रुप डोनाल्डट्रम्प हो। मोदी हो। ओली हो। अनि फिलिपिन्सको डुटेर्ते पनि हो। उत्तर कोरियाको भोगटे कट कीम ईल सुंगको त्यो नाती र अम्रिकाका यी कथित दुराचारी राष्ट्रपतिका लागि  संसार अल्मल्याउने एउटा मेलो हो। हेलिसिन्कीमा सुन्तले र भोगटेका प्रतिनिधिबीच वार्ताको उपक्रम चल्दैछ।  उनीहरुका बीच भेट होला नहोला। शायद नहोला।

तर मूलधारका संचार माध्यमले यसबारेमा एकसय अस्सी घण्टा बोल्नेछन। एकसय अस्सी डिग्रीको कोणमा विश्लेषण गर्नेछन। अमेरिकी मात्र होईन, विश्वका जनता रणभूल्लमा पर्नेछन। अमरिकामा हिजोआज जनमतको त्यति महत्व छैन।  जसरी नेपालमा छैन। जनमतको बैधानिकता चुनावरुपी परिणामले गलेको पिंडालुझैं निलिसक्यो।

त्यसैले मैले चुरोट तान्न छोडेको छैन। जुनिताजी मलाई भोट दिने जनता हुन्। म ट्रम्प हुँ। म ओली हुँ। त्यस्तै परिआए, म डुटेर्ते पनि हुँ।

मलाई थाहा छ, कुनै पनि मुलुक चलाउन प्रजातन्त्र भन्दा उत्तम र गतिशील अर्को कुनी पद्दति हुनै सक्दैन। यसलाई म चाहेजसरी बंग्याउँ सक्छु। मेरो हातमा दूई तिहाई बहुमत छ। छिमेकीले पर्दा भित्र मलाई जतिसुकै धम्की दिऊन, म पर्दा भित्र के गर्छु, जनताका लागि यसको कुनै औचित्य छैन। त्यसैले म केपी ओली हुँ।

जसरी राजेश मिश्रले चुरोट छोड्दैन, म (ओली) आफ्नो अहंकार छोड्दिन। म नेपाली महाभारतको कृष्ण हुँ, मलाई मेरो शंख फुक्ने अधिकार छ। ओली र भोलीका बीच तादाम्य नाखोज्नुहोला। राजेश मिश्र फोक्सो बिना बाँच्न सक्छ भने, केपी ओली किड्नी बिनापनि, नचलेको मुलुक चलाएको भ्रम दिन सक्छ।

सबै नेपाली सत्ताका खेलाडीहरुलाई थाहा भएकै कुरा हो, उत्तरको आकर्षण जतिसुकै होस्, गुरुत्वाकर्षण दक्षिणकै भारी हुन्छ। ओलीले गुरुत्वाकर्षणको नयाँ सिद्दान्त प्रतिपादन गरेको दिन म चुरोट पिउन छोड्नेछु। आखिर जहाँ बसेपनि, मलाई मेरो फोक्सो जत्तिकै मेरो देशको पनि माया लाग्छ है।

456पटक जम्मा पढिएको,1पटक पढिएको आज